म तिमी होइन,
तिमी पनि म होइनौ
किनकि तिमी भन्दा म फरक छु
तर म पनि त म होइन,
किनकि म अझै, म हुन सकेको छैन !!
बाबु आमाको छोरा म हुला,
श्रीमतीको पति म हुला
छोराछोरीका बाऊ म हुला
तर म, म हुन सकेको छैन
म, म हुने कोशिशमा छु
तेश्रो चक्षु खोल्न सकु
आँखा खोल्दाखोल्दै अनन्तमा पुग्न सकु
म विलयमा हराउन सकु
शून्य भित्र बिलाउन सकु
म, म हुन सकु !!
म रौद्र त्याग्न सकु
आशक्त हटाउन सकु
लालित्य क्षणभङ्गुर भगाउन सकु
यथार्थको विराटतामा म रम्न सकु
मैले सोचें जस्तै म, म हुन सकु !!