Friday, November 12, 2021

शून्यलाई चिर्ने गरी

 चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


बेगमा ल्याई दे तर्कनाका लहर

प्वाँखमा राखी दे उनैको रहर

शिरमा भरी दे केवल उन्को अधर

पाउमा राखि दे कदमका चाल

कण्ठमा मिसाइ दे चित्तका बेहाल

दृष्टिमा बोकी दे हुटहुटी कै  मिलन

कदममा गाँसि दे प्राप्तिको जीवन


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी


साँझमा ल्याई दे ओठको गोधूली

प्रात:मा छरी दे मिर्मिरे हिमचुली

वर्षामा ढाकी दे हार्थुङ्गो माथि माथि

रात्रिमा बालि दे  दन्तलहर कै कान्ति

घाममा राखी दे भर सौम्यको छाहारी

खडेरीमा अंकुर दे वात्सल्य उनकै सापटी 


चाल पखेटा हे चरी, बेगमा उडी उडि

ल्याइदेन खबर उन्को, शून्यलाई चिर्ने गरी

कसरी सम्हाल्नु जीवन

 

न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न चाह नै थियो, न राह नै थियो

न घटना थियो, न दुर्घटना नै हो

भिजेको मनमा लेऊ पलायो,

पखाल्नै नसक्ने यादले समायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न सामीप्य टूटथ्यो, न सोच जुध्थ्यो

न रिस थियो, न बिष थियो

उर्वर मनमा स्नेह पलायो

कहिल्यै नटुट्ने योगले बसायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो


न सम्पर्कै हुनगो, न सवालै  रह्यो

न मेटिनै सक्यो, न चोइटिने भयो

तिखो स्मारणले कब्जा जमायो

संगम नहुने भेलले बगायो


न फेरि भेट भयो, न याद नै गयो

कसरी सम्हाल्नु जीवन यो मेरो